पथरी, २ बैशाख – मोरङको पथरीशनिश्चरेका लोकसागर साम्बाले बुद्धिचाल खेलमा नेपालकै दोस्रोहुँदै नयाँ रेकर्ड कायम गरेका छन्। चैत्र २७ देखि ३० सम्म चलेको ‘सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ मा उनले अपराजित यात्रा तय गर्दै ८ अंक प्राप्त गरी दोस्रो स्थान हासिल गरे।
साम्बाले उक्त प्रतियोगितामा देश र विदेशमा खेलेका १५० जना चर्चित खेलाडीहरुसँग भिड्दै उल्लेखनीय प्रदर्शन गरे। उनले नगद ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दै फष्ट रनरअपको उपाधि जिते।
प्रतियोगितामा प्रथम भएका राजेन्द्र राई र पहिलो संस्करण बिजेता सुश्रुत दाहालसँग मात्र बराबरी खेलेका साम्बाले उच्च रेटिङ भएका खेलाडीहरुलाई पराजित गर्न सफल भए। उनले बुद्धिचाल खेलको क्याडिडेट मास्टर (सीएम) मिलन लामा, बिष्णु सुब्बा, सुमन श्रेष्ठ, सुदिप लामा लगायतका देशका चर्चित खेलाडीहरुलाई पराजित गरेका थिए।
लोकसागर साम्बा, जो मोरङ पथरीशनिश्चरे नगर खेलकुद बिकास समितिका सदस्यसमेत हुन्, यस अघि राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौटमा मोरङ जिल्ला च्याम्पियनहुँदै प्रदेशसम्म छनौट खेल खेलेका थिए। नगर खेलकुद महोत्सवमा पुरस्कार जितेका साम्बा आगामी दिनमा बुद्धिचाल खेल बिकासको लागि अझ सक्रियहुने बताएका छन्।
फ्रेन्डसीप चेस क्लवका सचिवसमेत रहेका साम्बा बिभिन्न विद्यालयहरुमा बुद्धिचाल प्रशिक्षणसमेत दिदै आएका छन्। उनले राष्ट्रिय च्याम्पियन रुपेश जैसवाल, नबीन तन्डुकर, पुरुषोतम चौलागाई लगायत अन्तराष्ट्रिय खेल खेलेका खेलाडीहरुसँगको प्रतिष्पर्धामा दोस्रो पुरस्कार जितेर नयाँ रेकर्ड कायम गरेका हुन्। उनको सानदार खेल प्रस्तुतिले बुद्धिचाल खेलको क्षेत्रमा नयाँ आयाम थपेको छ।