विद्यार्थी नेताहरूको बीचमा सुकुना क्याम्पसमा भएको कुटाकुट

Written by Bishal ghale

Published on:



मोरङ, वैशाख २९, २०८१ — मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित सुकुना बहुमुखी क्याम्पसमा शुक्रबार साँझ विद्यार्थी नेताहरूको बीचमा गम्भीर कुटाकुट भएको छ। आपसी विवादमा उत्पन्न भएको यस घटनामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का सभापति सन्तोष लिम्बू गम्भीर रूपमा घाइते भएका छन्।

घटनाको विवरण अनुसार, विद्यार्थीहरुले क्याम्पस परिसरभित्रको मैदानमा क्रिकेटको अभ्यास गरिरहेका बेला साँझ ६:४५ बजेतिर दुई पक्षबीच विवाद भएको थियो। विवाद मिलाउन गएका स्ववियु सभापति लिम्बू र अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन)का अध्यक्ष योगेश दाहालबीच सम्झाइबुझाइ गर्दा पनि विवाद नमिलेपछि तनाव बढ्दै गएको थियो।

विवादको क्रममा लिम्बूले क्रिकेटको स्टम्प प्रयोग गरी अन्य विद्यार्थीहरूलाई क्याम्पसबाट बाहिर निकाल्न खोजेका थिए। यसै क्रममा दाहालको टाउको र खुट्टामा चोट लागेको थियो। घटनापछि आक्रोसित भएका दाहालले क्याम्पसको गेट बाहिर निस्कनसाथ लिम्बूलाई चिर्पटले प्रहार गरेका थिए। चिर्पट प्रहारबाट लिम्बूको टाउकोमा चोट लागेको छ र उनको टाउकोमा १० टाँका लगाइएको छ।

घटनापछि अनेरास्ववियुका अध्यक्ष दाहाल फरार भएका छन्। इलाका प्रहरी कार्यालय विराटचोकका सइ (प्रहरी नायव निरीक्षक) नीरबहादुर खड्का नेतृत्वको टोलीले दाहालको खोजी गरिरहेको छ। घटनाको अनुसन्धान भइरहेको छ र थप जानकारीको लागि प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभएको छ।

Leave a Comment